युएईमा भिजट भिसाले निम्त्याएको समस्या र अवस्थाबारे मजदुर समाजका महासचिव भण्डारी

847

आज विश्वकै सबैभन्दा कम प्रतिव्यक्ति आय भएको मुलुकको रुपमा चिनिने हाम्रो देश नेपाल परम्परागत कृषि प्रणालीमा आश्रित भएको अविकसित र पछौटे समाजमा विद्यमान गरीबी, रोग, अशिक्षा, अन्धविश्वास, सामाजिक विभेद, छुवाछुत, बाताबरण प्रदुषण, अस्थिरता जस्ता दर्जनौ समस्याहरुका अलावा बेरोजगारी दिन दुगुना रात चौगुना बढ्दै गईरहेको छ ।

साथै समाजमा विद्यमान आर्थिक तथा समाजिक विकासका पूर्वाधारका अपर्याप्तताको कारण सामुदायको जनजिवन बदलिन नसकिरहेको यो वर्तमान परिप्रेक्ष्यमा आर्थिक भार थेग्न नसकी दिनहुँ हजारौ श्रमिकहरु दलालको प्रलोभनमा परि सेटिङ मार्फत भिजिट भिसामा युएई आइपुगेका छन् । यसरी आइपुगेका श्रमिकमध्ये कतिलाई हजार, १२ सयको काम मिलिहालेता पनि सम्बन्धित कम्पनीले भिसा नलगाइदिएर इलिगल हुन बाध्य परेको कयौं घटनाहरु दिनानुदिन आइरहेका छन् । उक्त विषयमा सरकारी निकाय पनि बेखबर चाहिँ छैनन् तर बेवास्ता गरिरहेका कुरालाई पनि नकार्न सकिँदैन । अब बेलैमा सचेत भएर सम्बन्धित निकायको ध्यान यतातिर पनि जानुपर्ने देखिन्छ ।

के हुन त युएईमा भिजिट भिसाले निम्त्याएका समस्या?

• सामान्यतया भिजिट भिसामा आउने श्रमिकमा चेतनाको स्तर एकदम कम हुनु, ७५% श्रमिक भिजिट भिसा बाहेक सेटिङ मार्फत नै युएई आएका छन् । सरकारले रोक लगाएको काम गर्दा आइपरेको समस्याको भागिदार आफै हुनुपर्छ भन्ने चेतना ती श्रमिकमा हुदैन । दोस्रो कुरा यति तलबमा काम लगाइदिए बापत यति लाग्छ भनेर मोलमोलाइ गरेर पैसा बुझाउछन्, जुन गलत हो । के पैसा तिरेर कुनै कम्पनीले जागिर दिन्छ त ? जागिरको लागि आफुमा संम्बन्धित कामको योग्यता हुन पर्छ कि पर्दैन ? उदाहरणको लागि इट्टाभट्टामा भारी बोकेको योग्यताले दलाललाई धेरै पैसा बुझाउदैमा बैंककरको जागिर मिल्ला त ?

• दलालको प्रलोभन,

सामन्यतया तपाईं मेनपावर कम्पनी तिर छिर्नु भो भने दलालले तपाइलाई सबै भन्दा पहिला भन्ने शब्द नै, के झन्झट गर्छौ, किन अन्तर्वाता दिन पर्यो, पास हुने हो कि होइन, भिसा कुर्न पर्यो, समय खेर नगर बरु जाउ भिजिट भिसामा यति लाग्छ डलर तिम्रो काम सफल हुन्छ । गएर काम नपाउदा सम्म मेरो मान्छेले हेर्छ । उताबाट भए काम छानीछानी आफुले रोजेर गर्न पाइन्छ । अनि सुरु हुन्छ श्रमिकको सपना सङसङै दसा । गाउँ फर्कियो केही रकम जम्मा गर्यो आएर दलाललाई बुझायो र काठमाडौंको होटलमा बस्यो । दलालले फोन गर्छ अनि भन्छ, भाइ आजको सेटिङ छ एअरपोर्ट जाउ ।

भ्रष्ट दलाल र सरकारी कर्मचारी तन्त्र,

एअरपोर्टमा हुने कालो कर्तुतको अनबिग्य उ हजार डलर देखाएर बोडिङ पास लिइसकेपछी माथी इमिग्रेसनका कर्मचारीको टेबल मुनिको लिस्टमा परिसकेको मोटो रकम डिउटी पुग्नु अघि नै समाइसकेको हुन्छ भ्रस्ट कर्मचारीले । हुन सक्ने सम्भावित खतराबारे जानकार भएर पनि आँखा चिम्लेर उसलाई बिदाइ गर्छ ।

राज्यको अव्यवस्थित बैदेसिक रोजगार निति,

के भिजिट भिसामा बिदेश आएर श्रम गर्नु अपराध या गैरकानुनी हो ? हो भने आजको मिति सम्म राज्यले कुन चाहिँ गैरकानुनी ढंगबाट काम गर्ने श्रमिकबाट प्राप्त हुने रेमिट्यान्स इन्कार गरेको छ त ? यदि इन्कार गर्दैन भने उक्त श्रमिक कसरी गैरकानुनी भयो ? जवाफ छ ? वैदेशिक रोजगार कसैको रहर होइन बाध्यता हो । बाध्यता हो भन्ने जान्दा जान्दै भिजिट भिसामा आउने श्रमिकबाट सेटिङको नाममा एअरपोर्टको कर्मचारीले लाखौं कुम्ल्याउनु चाहिँ कानुनी मान्यता प्राप्त हो त ? अनि एअरपोर्टमा जतिनै सेटिङ मार्फत बुझाउन परे पनि नेपाली कामदार बुझाउन विवस छन् । यो उनिहरुको बेरोजगारीले निम्त्याएको बाध्यता हो । यदि भिजिट भिसाको पुर्ण रुपमा समाधान छैन भने नियन्त्रण किन नगर्ने ?

• के भिजिट भिसालाई सम्बन्धित निकायले बैधानिकता दिन सकिँदैन ?

कुनै पनि श्रमिक भिजिट भिसामा आउनु अघि राज्यमा नै संम्बन्धित निकाय खडागरि आपतकालीन अवस्थामा उद्धारको लागि आवश्यक पर्ने रकमलाई धरौटीको रुपमा जम्मा गर्न लगाउन सकिन्छ । यसो गर्दा भिजिट भिसामा आएर श्रमिक बिदेशमा अलपत्र पर्ने अवस्था भएमा उक्त रकम निज कै परिवारका सदस्यको मातहतमा टिकट अथवा अन्य खर्चको लागि प्रयोजन गर्न सकिने गरि राज्यले नै धरौटी रकम लिनु पर्दछ । यदि श्रमिक अलपत्र पर्ने अवस्था आएन अथवा सफलता पुर्बक रोजगार भएको खण्डमा उक्त रकमबाट निजका परिवारले नै नेपालबाट श्रम स्वीकृति दिलाउन र बिमा गराएर मिल्ने गरि प्रयोजन गराउनु पर्दछ र बाकी रहेको रकम निज श्रमिक स्वदेश नफर्किदा सम्म राज्यकोष मै रहने अथवा निजका परिवारमा भैपरि आएको खण्डमा निकालेर खर्च गर्न मिल्ने गरि राज्यकोष मै धरौटी स्वरुप राखिनु पर्दछ । यसो गरेको खण्डमा वैदेशिक रोजगारीमा आउने श्रमिकको ९९% समस्याको हल हुन जान्छ । कथम कदाचित श्रमिकलाई केही भएको खण्डमा श्रमिकले पाउने वैदेशिक रोजगार बिमा रकम बराबरको क्षतिपूर्ति पनि पाउछ । अब सोच्ने पालो सरकारको,  वैदेशिक रोजगारीको सिलसिलामा भिजिट भिसामा जाने श्रमिकबाट राज्यले दोहोरो फाइदा लिने कि ? श्रम शोषण मात्र गरिरहने ?

° नेपालको फितलो कानुनी व्यवस्था र युएईमा दलालले पहुच ।

कानुन कै कुरा गर्ने हो भने विश्वकै उत्कृष्ट कानुन नेपालमा छ भनेर संविधान जारी भएको बेला ३ हात उफ्रिनेहरुले पनि यहि समस्या भोग्दै होलान् अथवा उनिहरु यी समस्याबाट अलग होलान् यो परको बिषय हो । जब एउटा श्रमिक यतिका समस्या झेलेर युएई आइपुग्छ यो भन्दा चर्को समस्याले उसलाई यहाँ पर्खेर बसेको हुन्छ । वास्तव मै भन्नू पर्दा कतिपय दलाल यति भोका हुन्छन् कि उनिहरु संङ एअरपोर्ट सम्म यतिका रकम बुझाएर आएका श्रमिकलाई रिसिभ गर्न जाने ट्याक्सी भाडा सम्म पनि हुदैन । अझै भन्नू पर्दा मेरो यति जना केटाहरु नेपालबाट आउदै छन् अनि डलर समाएर दिन्छु भन्दै कयौं महिना देखिको रुम भाडा पनि तिर्न बाकी हुन्छ । रासन त्यसैगरि खाइराखेका हुन्छन् । जसो तसो कसैको रुममा ५ दिनको लागि हो ५ दिनमा कम्पनीले लान्छ भन्दै दिनको हिसाबले भाडा तिरेर दलाल रुम फिर्छन् त्यसपछि दलालको अनुहार हेर्न स्वर्गका राजा इन्द्रदेबको दर्शन पाउनु जतिकै हुन्छ । रुमवालाले रुमबाट दलालले तिरेको पैसाले मिति पुगेको दिन निकाली दिन्छ । खल्तीमा सुको हुदैन, खाने टुंगो हुदैन, बस्ने बास हुदैन । केही गरि घर परिवारले लौन छोराछोरीको बिचल्ली भएको छ रे भनेर कतैबाट रिन धन गरेर केही रकम पठाइहाले भने पाइला पिच्छे दलाल । जागिर पाउने आशामा भनौ दलालको प्रलोभनमा एक महिनाको तलब पहिलै बुझाउन पर्छ है भन्ने उर्दि जारी गरेर बचेको अर्को दलालले बोकेर हिड्छ । कानुनी उपचारको लागि पर्याप्त प्रमाण हुदैन । स्थानिय प्रशासनले सिभिल केश हो भनेर उजुरी लिन मान्दैन पैसा त परको कुरा भयो उस्तै परे राहदानी पनि बोकेर दलाल फरार हुन्छ । अझै रोचक कुरा त के भने अल फाहिदीको जम्बो इलेक्ट्रोनिक्स अगाडिको चोकलाई नेपाली नामाकरण गरेर दलालि चोक रे, हो पनि यदि त्यँहा जो कोहि जुन समय पुगे पनि केही दालालीहरु खुलेआम यस्तो ठाउँमा काम छ यति कमिसन लाग्छ भन्दै बार्गेनिङ गरिराखेको भेटिन्छ । उता राज्यले अबैधानिक तबर बाट गएको भन्दै भिजिट भिसा भनेको घुम्नलाई हो काम गर्न होइन भनीदिन्छ । अनि श्रमिक केवल पुर्पुरो समाएर रुन बाहेक अरु केही गर्न सक्दैन । भाग्यले कोहि मनकारी अर्को श्रमिक भेटिइहाल्यो भने खायो एक दुई दिन बास बस्यो नत्र वर दुबईका खुल्ला चौर र मन्दिरका टेबल, खजुरको बोट मुनि अस्थाइ आवास बनाएर बस्नुको बिकल्प छैन । नत नेपाल फर्किन सक्ने अबस्था नै रहन्छ ।

यी त भिजिट भिसाले निम्त्याएका समस्या भए । के श्रम स्वीकृत लिएर आएका श्रमिकका चाहिँ समस्या नै छैनन् त ? हुन सक्छ भिजिट भिसामा काम गर्न आउने श्रमिकका भन्दा श्रम स्वीकृति लिएर आउने श्रमिकका समस्या केही हद सम्म कम होला तर समस्या हुँदै नभएको चाहिँ  होइन । फ्लेक्स कम्पनी त्यसैको पछिल्लो उदाहरण हो । सयौं कामदार अलपत्र हुदा कयौंले रोजगारी गुमाउदा खै सरकार र संम्बन्धित निकायले के गर्यो त? अब त भिजिट भिसालाई अध्यागमनले विशेष चासोका साथ हेर्ने रे, भिजिट भिसामा कुनै पनि देश जान अङ्ग्रेजी भाषा जानेको हुनुपर्ने रे । खोइ त आज पनि भिजिट भिसामा खाडी आउने श्रमिकको कुनै कमि छैन त । बाटो काट्न नजानेर सिग्नलमा हरियो बत्ती बल्दा पनि कुरेर अरुले बाटो काटेको नदेखी बाटो काट्न नजान्ने अथवा बाटोमा सवारी नदेख्ना साथ दौडेर बाटो काट्ने श्रमिक अझै पनि देखिन्छन् । त्यसैले अध्यागमनले विशेष निगरानी गरेको चाहि पैसाको बिटोमा होकि खाडी जाने ठिटोमा हो सरकार, नत्र आत्महत्या गर्न जानेलाई पक्रेर फाँसीको सजाय सुनाउनुको अर्थ के ?

लेखक :- उत्तम भण्डारी नेपाली मजदुर एकता समाज युएई समितिका महासचिव समेत हुन

शेयर गर्नुहोस् ...

प्रतिक्रिया दिनुहोस्

सम्बधित सूचना