महिनावारी महिलालाई किन भारी – निरु कार्की

1673

✍️निरु कार्की

महिलाको शरीरमा हुने स्वभाविक जैविक प्रक्रियामा एक घटना हो महिनावारी तर हरेक मानिसहरुको मानसिकता र शरीरलाई किन भइरहेको छ भारी ? अहिले २१औं शताब्दीमा मानिसले चन्द्रमा छोइसकेको छ तर अझै पनि हाम्रो गाउँ घरमा महिनावारी भएको छोरी, चेली, बुहारीलाई छुन हुन्न र उनीहरुको पहिलो महिनावारीमा २१ दिनसम्म बन्द कोठामा अरुको गोठ, घर या झुपडीमा राखि दुव्र्यवहार गर्ने र महिनौं दिनसम्म बिद्यालय जानबाट बन्चित गराइन्छ साथै घरमा आफ्नो दाजुभाइ काका बुबाको अनुहार समेत हेर्न हुदैन भन्ने चलन चल्ति चली आइरहेको छ । हामीले देश बिदेशमा धेरै परिवर्तन भएको देख्छौ सुन्छौ तर यस्ता बिकृती र गलत प्रचलनहरुको परिवर्तन भएको कहिले देख्न र सुन्न नपाईने भो ।


स्वाभाविक कुरा थियो महिनावारी हुदा त्यो बेला स्यानेटेरी प्याड जस्ता साधन हुदैन थियो । त्यस्ता साधनहरु प्रयोगमा ल्याउने ज्ञान पनि थिएन र मानिसहरु अशिक्षित र लजालु स्वभावका थिए । स्वभाविक हो मन्दिर, भान्सा या कुनै पुजा आजामा फोहोर हुन्छ भनेर बन्देज गरिन्थ्यो होला र गर्नु पनि पर्छ । महिनावारी हुँदा शरीरमा कमजोरीपन आउँछ भनी एक प्रकारले महिलाले केही दिन विश्राम गर्न पनि पर्छ भनेर बार्नु एक हिसाबले ठिक पनि हो मेरो बुझाइमा तर रक्तस्राव भएको छोरीले घरका परिवारलाई नै छुन र हेर्न हुन्न भन्ने जस्ता कुराले कति मानसिकतामा असर पुग्छ भन्ने कुराको अनुभव भने कसैले कहिले गरेनन् र किन कसरी पाप लाग्छ भनेर सोधपुछ गर्ने सम्म हिम्मत राखेनन् र मैले छिछी दुरदुर गर्ने जस्ता दुव्र्यवहार र मानसिकताको कहिले मतलब थाहा पाउन सकिन र कसै सँग यसको जवाफ पनि छैन । एक महिलाको शरीरमा हुने मासिक रक्तस्राव प्रक्रियालाई दबाब र प्रचलनमा समेट्ने हाम्रो कस्तो समाज हो ? अझै पनि शहरी क्षेत्रमा होस् या अति पिछडिएका गाउँमा धेरै जस्तो यस्ता घटनाहरु दिनहुँ घटेको देख्न सुन्न पाइन्छ तर यस प्रति कुनै महिला अधिकार संस्था र कुनै सरकारी निकायको ध्यानाकर्षण भने भएको देखिदैन ।


यो देशमा केका लागि महिला अधिकार संस्थाको स्थापना भएको हो ? धर्मकर्म, चाडपर्व पुरानो चालचलनहरुलाई हामीले अनुसरण गर्नुपर्छ जसले हामीलाई शिक्षा र सहि मार्गदर्शन दिई रहेका हुन्छन् तर समाजले सतिप्रथा, दाइजो प्रथा र छोराछोरी बिचको भेदभाव जस्ता गलत प्रथाहरुलाई भुल्दै र कुचल्दै आइरहेको छ भने यस्तो गलत प्रवृत्तिलाई भने किन आजैबाट दिमागबाट बिर्सन सकिदैन त ? हामी यो शताब्दीमा आएर पनि के सहि के गलत प्रथा चलन समाजमा घटीरहेको छ र जसले गर्दा समाज र सिङ्गो देशमा गलत शिक्षालाई अनुसरण गर्दै मानिस अघि बढीरहेका छन् । हामीले किन गलत प्रथालाई हटाएर सहि प्रथा लाई अङ्गाल्न जानेनौ ? के यो शिक्षाको कमि हो या चेताना र विवेक को ? महिला रास्ट्रपति भएको देशमा महिलाहरू कै पीडा बुझ्ने कोशिश गर्न सकेन भने देश बिकास हुन अझै हजारौं बर्ष लाग्नेछ । किनकि देश बन्नको लागि ब्याक्ती परविर्तन भएर हैन सोच परिवर्तन हुन अत्यन्तै जरुरी हुन्छ ।

लेखिका : निरु कार्की – नेपाली काङ्ग्रेस कि महिला नेतृ, नेपाल जेसिस राष्ट्रिय महिला विकास संयोजक, चितवन ग्रीन लेडि लायन्स कि पुर्व अध्यक्ष तथा विभिन्न संघ संस्थामा पनि आवद्ध हुनुहुन्छ ।

शेयर गर्नुहोस् ...

प्रतिक्रिया दिनुहोस्

सम्बधित सूचना